काठमाडौं, भदौ ७ । मुलुकमा सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल र पेट्रोल पर्दछ । तर यी दुई वस्तुको आयात साउनमा रकमका आधारमा घटेको छ भने परिमाणमा आधारमा बढेको छ । भन्सार विभागका अनुसार यो साउन महिनामा कुल ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको हो। गत वर्षको साउनमा भने ८ अर्ब ९८ करोडको डिजेल आयात भएको थियो ।
आयातित डिजेलको परिमाण भने बढेको छ । गत वर्षको साउनमा ६५ हजार १८६ किलोलिटर डिजेल आयात भएकोमा यो साउनमा ७६ हजार ७१६ किलोलिटर आयात भएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनले यस्तो असर परेको हो । त्यस्तै पेट्रोलको आयात पनि रकममा घटेको छ भने परिमाणमा बढेको छ ।
गत वर्षको साउनमा ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएकोमा यो साउनमा ५ अर्ब ४४ करोडको आयात भएको छ । गत वर्षको साउनमा ५४ हजार ७०४ किलोलिटर पेट्रोल आयात भएकोमा यो साउनमा ५६ हजार ९०१ किलोलिटर आयात भएको छ ।