काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको दावी गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद डा.नारायण खड्काको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको जनाए ।
घरजग्गा कारोबार क्रमशः वृद्धि हुँदै गएको र पुँजीबजारमा उल्लेखनीय सुधार आएको छ, भने निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताए ।
राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिका कारण यो सकारात्मक सङ्केत देखिएको हो । प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभव र जनताको इच्छा, आकाङ्क्षा र राष्ट्रको आवश्यकताका आधारमा राजनीतिक दलहरूको सहमतिमा संविधानमा समयानुकूल परिमार्जन गर्न सकिने पनि स्पष्ट पारे ।