ललितपुर । ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ । मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । चाकुपाट सरस्वती खेल गुठीले दिएको निवेदनका आधारमा संरचना भत्काउन महानगरले दिएको निर्देशन नमानेपछि महानगरले डोजर चलाउनुपरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए ।
“वडा नं १० चाकुपाटमास्थित तःननी, चाबा, मिखाबहाल र अमात्य गुठी मिचिएको जग्गामा बनेको संरचना आज हामीले डोजर लगाएर भत्कायौँ । हामीले पटकपटक आग्रह गर्दा पनि उहाँहरूले भत्काउनुभएन, गुठियारले धेरै आग्रह गरेपछि आज डोजर नै चलाउनुपर्यो”, नगरप्रमुख महर्जनले भने ।
गुठीको भोजमा प्रयोग हुने सो जग्गा संरक्षण गर्न गुठियारको चाहानाबमोजिम मात्र काम हुने उनले जानकारी गराए । पाटनका स्थानीय तथा गुठियार कुलाल डङ्गोलले अमात्यहरुको दुईतले भवन भएको ठाउँ भत्काएर अतिक्रमण गरिएको बताए । तःननी गुठीका गुठियार सुरेशमान महर्जनले गुठीकै आग्रहमा महानगरले संरचना भत्काउने काम गरेको जानकारी दिए ।