जनकपुरधाम । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका—७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार घर नजिककैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेका थिए । राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेको परिवारले जनाएको छ । सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।