काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनः व्यवस्थापनका काम अघि बढाइने बताए ।
प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरू निर्माणबारे निर्णयहरू गरिने जानकारी गराए ।
प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरू अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमेत सहभागी कार्यक्रममा उनले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँदामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरू गर्नुपर्नेमा जोड दिँदै उनले फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने बताए ।