काठमाडौं । केन्द्रमा नयाँ सत्तासमीकरण बनेसँगै त्यसको प्रत्यक्ष असर प्रदेशमा पनि देखिएको छ । अहिले सातै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् भने प्रदेश प्रमुखहरु पनि फेरिन सुरुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम आज नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
राष्ट्रपति पौडेलले यही फागुन २८ गते मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार आजै उनिहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो ।
यसैबीच, नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गरिएको थियो ।