काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।
यसैबीच, प्रमुख बालेनले लेखेका छन् यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ ।
अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।
सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ । यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।