काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको मृत्युभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा–९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिएका थिए ।
सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।