काठमाडौँ । गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.१७ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ६.८३ प्रतिशत थियो । चालु आर्थिक वर्षको एघार महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.९४ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
यसअवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२, दाल तथा गेडागुडीको ११.७६, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ ।
तर, सोही अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको एघार महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.४७, शिक्षाको ५.६४ र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ । तर, सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ ।