काठमाडौं, भदौ २६ । सहकारी क्षेत्र सुधार गर्न सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताए। गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल, २०८० को अवधारणा पत्र स्वीकृत गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतको संयोजकत्वमा ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको थियो ।
उक्त कार्यदलले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो । सहकारीका बचतकर्ता पीडितलाई तत्काल राहत दिने गरी सरकारले केही योजना ल्याउन अध्ययन कार्यदलले सुझाव दिएको दुवाडीले बताएका छन् । कानुनी सुधार गरेर यो क्षेत्रका समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिएको पनि उनको दाबी छ ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सहकारी क्षेत्रका समस्या समाधानका लागि पहल गर्न र दीर्घकालीनरुपमा समाधानका लागि आवश्यक नीति तर्जुमा गर्न निर्देशन दिएको सचिव दुवाडीको दाबी छ ।