काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले संखुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण आयोजना धेरै सस्तो मूल्यमा बन्ने भएकाले महत्वपूर्ण भएको बताएका छन् । उनले यो आयोजनाका लागि स्रोत जुटाउन समस्या नभएको र धेरै दाताहरुले चासो देखाइरहेको बताए ।
माथिल्लो अरुण निर्माणस्थलको स्थलगत अनुगमन गर्दै शुक्रबार उनले विश्व बैंकले यो आयोजनाका लागि विशेष सहभागिता जनाएको बताए । अर्थमन्त्री महतले आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न हुनेमा विश्वस्त रहेको बताए ।
उर्जामन्त्री शक्ति बस्नेतले माथिल्लो अरुण सबैका लागि गौरवको आयोजना भएको बताए । अबको १२ वर्षमा नेपालका विभिन्न स्थानबाट २५ हजार मेगावाट बिजुली निकाल्ने तयारीमा सरकार रहेको उनले बताए । यो आयोजना विकास र समृद्धिका लागि मूलस्रोत भएको भन्दै जलस्रोतलाई मुलुकको समृद्धिका लागि प्रयोग गर्ने उपयुक्त समय आएको पनि बताए ।
संघीय सांसद दीपक खड्काले आयोजनाको शेयर हरेक घरधुरीले प्राथमिकताका साथ पाउनुपर्नेमा जोड दिए । उनले आयोजनाबाट स्थानीयले पाउने सेवा सुविधाबाट वञ्चित हुनु नपर्ने बताए । विद्युत् प्राधिकरणको गौरवको आयोजनाका रूपमा माथिल्लो अरुणलाई निर्माणको रुपमा थालेको पनि उनले बताए । ४ वटा निजी कम्पनीका हेलिकप्टरबाट आइपुगेका अर्थमन्त्री, उर्जामन्त्री र विश्व बैंकका प्रतिनिधिले माथिल्लोअरुणको ड्यामसाईड, पावरहाउस र सुरुङमार्गको अवलोकन गरेका थिए ।