पोखरा । पोखरामा मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तार गरेको छ । पोखराको चिप्लेढुंगामा मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख, बाबुराम ढकाल र मुक्तिनाथ विकास बैंकका, संस्थापक शेयरधनी, नविन ढकालले संयुक्त रुपमा क्यापिटलशो शाखा उद्घाटन गरेका हुन् ।
मुक्तिनाथ विकास बैंकका चिप्लेढुङ्गा शाखा प्रमुख रामचन्द्र रानाभाटले संचालन गरेको उक्त समारोहमा गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकाल सहायक प्रदेश प्रमुख शंकर केसी तथा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा प्रबन्धकहरुका साथै बैंकका अन्य कर्मचारी तथा लगाानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ क्यापिटल लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत २०६६ माघ २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई स्थापना भएको मुक्तिनाथ विकास बैंक लिमिटेडको सहायक कम्पनी हो । यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम मर्चेन्ट बैंकिङ्ग सम्बन्धी व्यवसाय गर्नका लागि २०६७ साउन ११ गते स्वीकृती प्राप्त गरी व्यवसायिक कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
मुक्तिनाथ क्यापिटलले मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंक गरी सम्पूर्ण शाखा कार्यालयहरुबाट करिब १,३२,००० सेवाग्राहीहरुलाई निक्षेप सदस्य (डिम्याट खाता) सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । हाल सम्म ५० करोड रुपैयाँ भन्दा बढी रकमको लगानी ब्यवस्थापन गरी आफ्नो सेवाग्राहीहरुलाई उचित प्रतिफल दिन सफल रहेको कम्पनीले दाबी गरेको छ ।यससँगै क्यापिटलले कुल १४ वटा विभिन्न क्षेत्रका संस्थाहरुको करीब चार लाख शेयरधनीहरुलाई शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
क्यापिटलले आफ्नो सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी निक्षेप सदस्य, शेयर रजिष्ट्रार, लगानी ब्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभुति र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सेवाहरु नारायण्चौर, नक्साल स्थित प्रधान कार्यालयबाट दिँदै आईरहेकोमा अब उपरान्त ती सेवाहरु नयाँ शाखा कार्यालयबाट पनि सजिलै प्राप्त गर्न सक्नुहनेछ । निकट भविष्यमा साना लगानीकर्ता तथा विपन्न वर्गलाई लक्षित गरी मुक्तिनाथ विकास बैंक कोष प्रबद्र्धक रहेको सामूहिक लगानी कोष पनि नेपाली पूँजी बजारमा ल्याउने तयारी रहेको छ।