काठमाडौं, भदौ २८ । नेपाल चेम्बर अफ कमर्सले लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमण अघि चेम्बरले चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक छलफल गरेको हो । जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत, कृषि , सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेका छन् । लगानीका लागि हुने नीतिगत कठिनाइ अन्त्यका लागि सरोकारवाला सरकारी निकायमा नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लले बताएका छन् ।
उनले नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्ष पुनरावलोकन गरेर व्यापार सहजीकरण गर्नुपर्नेमा जोड दिए । नेपाल चीन बीच यसअघि भएको पारवहन सम्झौताको प्रभावकारी कार्यान्वयन एवं उत्तरी छिमेकीसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले भन्सार नाकाहरूमा अन्तर्राष्ट्रिय क्वारेन्टीन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए । नेपालबाट चीनमा वार्षिक २ खर्व रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसको लाभ लिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने गरी चेम्बरले सुझाव समेत दिएको छ । चेम्बरसँगको छलफलका क्रममा चिनियाँ निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिले नेपालमा लगानीका लागि भइरहेको नीतिगत कठिनाइबारे जिज्ञासा राखेका थिए । दुई मुलुकबीच आर्थिक र कूटनीतिक सम्बन्ध उच्चस्तरीय रहेको उनीहरूको भनाई छ । हेन इन नेतृत्वमा चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको थियो ।