काठमाडौं । कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो । पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले शनिबार एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए । अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरे ।
सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले प्रतिसेकेन्ड पाँच लाख २१ हजार क्युसेक नाघेको छ । पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका छन् । यसका साथै सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोका समेत खोलिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।