काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानका मूल तत्वलाई कमजोर बनाउन नखोजिएको बताएका छन् । कांग्रेस र एमाले मिलेर सरकार गठन गर्दा संविधान संशोधनसमेत गर्ने सहमति भएको उल्लेख गर्दै कमजोर बन्ने तर्क गलत भएको दावी गरे ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागि लेखकले संविधान संशोधनबारे गलत भाष्य स्थापना गर्न खोजिएको दावी गरे । संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरेर संविधानको समीक्षा गर्ने, यसमा प्रारम्भ गरिसकेपछि अभ्यासमा के राम्रा पक्ष देखिएका छन् र के जटिलता देखिएका छन्, यसको मूल्यांकन गरेर आवश्यकताअनुसार संविधान र कानुनको परिमार्जन गर्न संशोधन गर्ने भनेको हो उनले भने ।
संविधान जारी भएको ८ वर्ष पुगिसकेको र १० वर्ष पुगेपछि कतिपय व्यवस्थामा पुनर्विचार गर्नुपर्ने विषय संविधानमै उल्लेख गरिएको लेखकको भनाई थियो । संविधान संशोधनमार्फत राजनीतिक स्थिरताको सुनिश्चितता गर्नुपर्ने लेखकको भनाइ थियो । संविधानको समीक्षा गरेर थप बलियो बनाउनका लागि कांग्रेस र एमाले तयार भएको बताउँदै उनले आगामी दिनमा अन्य राजनीतिक दलहरूलाई पनि संलग्न गराउने बताए ।