Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काम पाउन छोडेपछि जीविकोपार्जनमा समस्या


काम पाउन छोडेपछि जीविकोपार्जनमा समस्या

ललितपुर । ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थान चोक वर्षौँ पहिलेदेखि कामदार पाइने ठाउँको रुपमा परिचित छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु यतिबेला महालक्ष्मीस्थान चोकमा कामको प्रतिक्षामा बसिरहेका भेटिन्छन् ।


दैनिक करिब दुई सय कामदार कामको खोजीमा उक्त चोकमा बसिरहेका भेटिन्छन् । कामको खोजीमा निस्केका उनीहरुलाई पहिलेको जस्तो काम नपाएपछि जीविका कसरी चलाउने भन्ने चिन्ताले हिजोआज पिरोल्न थालेको छ ।

महालक्ष्मी चोकमा कामको खोजीमा बसेका उनीहरु मोटरसाइक रोकेका व्यक्तिलाई “कामदार चाहिएको हो सर ?” भनेर सोध्छन् । काम पाउने वित्तिकै काम गर्न को जाने भन्ने विषयमा हानथाप हुन्छ । दिनभरी कामको पर्खाइमा रहेका उनीहरु बिहान ७ बजेदेखि राति १२ बजेसम्म बस्छन् । काम नपाएपछि निराश भएर कोठा फर्किन्छन् ।

महोत्तरीको बर्दिवास घर भएका ३८ वर्षीय पवन दासले महालक्ष्मीस्थान चोकमा काम खोजेर मजदुरी गर्न थालेका २३ वर्ष भएको बताए । पहिलेको जस्तो काम पाउन छोडेको भन्दै उनले अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको बताए ।

भोजपुर जिल्ला तिवारी भञ्ज्याङ गाउँपालिका घर भएका ४९ वर्षीय मोहन कार्कीले उक्त चोकमा काम खोज्न थालेको १८ वर्ष बित्यो । अहिले काम पाउन छोडेपछि कसरी दैनिकी चलाउने भन्ने चिन्ता लाग्ने थालेको उनको भनाइ छ । कामदारको भीडमा काम खोजिरहेका कार्कीले काम नपाएको दुःखेसो पोखे । कामको खोजीमा रहेका कामदारको ठेकदारले पैसा ठगेको गुनासो गरेका छन् ।

सप्तरीको लहान घर भएका ४० वर्षीय हरि मण्डल महालक्ष्मी चोकमा काम खोज्न लागेको २५ वर्ष भएको बताउँछन् । उनले २५ वर्षसम्म आफूले परिश्रम गरेको पैसा धेरैले ठगेको दुःखेसो गरे । अहिले पहिलाको जस्तो काम नपाइएको उनले अनुभव सुनाए ।

गोरखाका ५५ वर्षीय रामबहादुर विकको यस चोकमा काम खोज्न लागेको २० वर्ष भएको छ । काम खोज्दाखोज्दैँ दिन बितेपछि बेलुकापख कोठामा गएर कसरी जीविका चलाउने भन्ने चिन्ता लाग्ने गरेको उनले बताए ।

ललितपुरको महालक्ष्मीस्थान चोकमा कामको खोजीमा बसेका अरु मजदुरहरुको पनि पीर एउटै छ । “काम नपाएपछि कसरी जीविकोपार्जन गर्ने ? कसरी कोठा भाडा तिर्ने ? चोकमा बसेर दिनभरी काम खोज्नेमा देशका विभिन्न जिल्लाका युवादेखि ६० वर्ष उमेर समूहका भेटिन्छन् ।