Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जावलाखेलमा आज भोटो जात्रा : उपत्यकाका जिल्लामा सार्वजनिक बिदा


जावलाखेलमा आज भोटो जात्रा : उपत्यकाका जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । आज उपत्यकाको मुख्य र लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा देखाइँदैछ।

गुठी संस्थानका अनुसार, रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपरान्ह ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ। भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ। भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ।

छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ। यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ।

करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ। यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ। ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरूमा परिक्रमा गराइन्छ।

वि.सं. ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन्। १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ।

यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनेछन्। यस अवसरमा सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ।