काठमाडौं । जाजरकोटमा गएको भूकम्पपछि राहत, उद्धार र पीडितको विषयमा अनुगमन गरी प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले पुनर्निर्माण चाँडो सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा एक समिति प्रभावित क्षेत्रमा गएको थियो ।
सांसदहरू कृष्णगोपाल श्रेष्ठ, दिलेन्द्रप्रसाद बडू, हितराज पाण्डे, बुद्धिमान तामाङ सम्मिलित उक्त समितिले भूकम्पपछिको पुनर्निर्माणका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव एवं निर्देशन दिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा ‘जतिसक्दो चाँडो एकीकृत रूपमा दीर्घकालीन योजना बनाई पुनर्निर्माण गर्नुपर्ने’ भनिएको छ ।
उक्त संसदीय समितिले क्षतिग्रस्त भौतिक संरचना हटाउन तथा व्यवस्थापन गर्न जनशक्तिको व्यवस्था गर्नुपर्ने, भूकम्प प्रतिरोधी घर निर्माणका लागि सरकारले समन्वय र सहकार्य गर्नुपर्नेलगायतका सुझाव तथा निर्देशन दिएको छ । समितिले पुनर्निर्माणको कार्य नीति, विधि र कानुन बनाई स्रोत साधनको विनियोजनसहित तुरुन्त प्रारम्भ गर्न पनि सरकारलाई भनेको छ ।
संसदीय समितिले अस्थायी आवास निर्माण छोटो समयमा गर्नुपर्ने भएकाले स्थानीय स्रोत र साधनको उपयोग गर्न सरकारलाई सुझाव दिएको छ । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १ सय ५४ जनाको मृत्यु भएको थियो भने ठूलो संख्यामा भौतिक संरचनासमेत क्षतिग्रस्त बनाएको थियो ।
यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीले नेपालको पश्चिम भूकम्पबाट प्रभावितलाई सहयोग गरेको छ । सीपीसीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले नेपाली राजनीतिक दलका प्रतिनिधिमार्फत बुधबार करिब २ करोड ७४ लाख ७५ हजार रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वान सीनले ती सामग्री कांग्रेस नेता तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेकपा माओवादी केन्द्र महासचिव देव गुरुङ र नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।