काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई बैंकरहरूले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउन आग्रह गरेका छन् । नेपाल बैंकर्स संघका पदाधिकारीले अर्थमन्त्री पौडेलसँगको भेटमा मंगलबार यस्तो आग्रह गरेका हुन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा रहेको परिप्रेक्ष्यमा पनि कर्जा विस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रूपमा बजार चलायमान हुन नसकेको परिस्थितिमा अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए ।
पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जालगायत विषयमा अर्थमन्त्रीलाई अवगत गराएका थिए । बैकर्सहरूसँगको भेटमा उपप्रधान एवम् अर्थमन्त्री पौडेलले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ सबै अग्रसर हुनु पर्ने बताए । यस्तै, जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गइरहेको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको उनले बताए ।