चितवन । चितवनमा एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गसँग जोडिएको सात बिघा जमिनमा सुपर मार्केटसहितको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ निर्माण गर्न लागिएको हो । उद्यमी श्रेष्ठले एक वर्षभित्र चिस्यान केन्द्र निर्माण गरिने बताए ।
उपजलाई छुट्टाछुट्टै च्याम्बर र तापक्रममा राखिने उनले बताए । यहाँ भण्डारण गरिएका कृषि उपज भाटभटेनीसँगै आवश्यकतानुसार अन्य स्टोरमार्फत बजारमा पठाइने छ । किसानलाई प्रेरित गरेर त्यहाँ उत्पादित वस्तु खरिद गरी ग्रेडिङ, लेबलिङ र प्याकिङ गरेर भण्डारण गरी आवश्यकतानुसार बजार पठाउने लक्ष्य राखिएको छ । उद्यमी गुरुङले चितवनसँगै जनकपुर, भैरहवा, नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गर्ने योजना रहेको बताए ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीले शीतभण्डार निर्माणबाट चितवनको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । शीतभण्डार निर्माणपछि उत्पादन सडेर जाने अवस्था अन्त्य हुने उनिहरुको भनाइ छ ।