एजेन्सी । टी–ट्वान्टी क्रिकेट विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै उपाधि जितेको हो । भारतले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । दक्षिण अफ्रिकाले पनि फाइनल सम्मको यात्रा अपराजित तय गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा १ सय ७६ रन बनाएको थियो ।
जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएकामा ८ रन मात्रै बनाउन सक्यो । २१ रन बनाएर खेलिरहेका डेविड मिलर हार्दिक पान्ड्याको बलिङमा सूर्यकुमार यादवले उत्कृष्ट क्याच लिएपछि भारतको जितको आधार तयार भएको थियो ।
दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । उसले १२ रन बनाउँदासम्म दुई विकेट गुमाइसकेको थियो । फाइनलमा अपराजित दुई टिमबीचको भिडन्त रोचक बनेको थियो । भारतले सन् २००७ को पहिलो संस्करणको विश्वकप जितेको थियो भने दक्षिण अफ्रिका पहिलो पटक यस विश्वकपको फाइनल खेलेको हो । भारतले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो । सन् १९९८ मा दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफी जितेयता उपाधिविहीन रहँदै आएको थियो ।