काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएको छ । चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गराउन माग गर्दै रास्वापाले मन्त्रीको ध्यानाकर्षण गराएको हो । चिनी उत्पादनमा आत्म–निर्भर हुदैँ निर्यात गर्न सक्ने पर्याप्त सम्भावना रहँदा समेत राष्ट्रिय मागको करिब ६० प्रतिशत चिनी मात्र आन्तरिक उत्पादनले धानेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
रास्वापाको उद्योग तथा वाणिज्य विभागका प्रमुख गणेश पराजुलीको नेतृत्वमा गएको टोलीले गत वर्ष समयमा नै चिनी मौज्दातको पर्याप्त व्यवस्थापन गर्न सरकार चुकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । सरकार व्यवस्थापनमा चुक्दा दशैं र तिहारको २२० रुपैयाँ सम्म प्रतिकेजी चिनिको मूल्य परेको जनाइएको छ । अभावको समयमा कालोबजारी र चोरी आयातले प्रसय पाउँदा भन्सार कर प्राप्तिबाट पनि बञ्चित हुनु परेको तथ्य मन्त्री भण्डारीलाई रास्वपाले देखाएको छ ।