काठमाडौं । कीर्तिपुरका ठुला भनिएका अधिकांस सहकारी संस्थाहरुले सहकारी विभागको निर्देशन अवज्ञा गर्ने गरेको पाइएको छ । विभागले पटक—पटक सहकारी संस्थाहरुलाई श्वेतपत्र जारी गर्न भनेपनि कीर्तिपुरका ठुला भनिएका सहकारीहरुले अहिलेसम्म जारी गरेका छैनन् । कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी संस्था बाहेक अन्य कुनै पनि सहकारीले श्वेत पत्र जारी गरेको भेटिएको छैन ।
यस विषयमा कीर्तिपुर नगरपालिकाको सहकारी शाखा भने बेखबर छ । मूख्यगरि सहकारी संस्थाले अहिलेको अबस्थामा आफ्नो वित्तीय विवरण श्वेत पत्र मार्फत सम्पुर्ण सदस्यहरुलाई सार्वजनिक गर्नु पर्ने हुन्छ । तर, कीर्तिपुर नगरपालिकाभित्रका करिब ८४ बढी सहकारी र अहिले सञ्चालनमा रहेकका ५० बढी सहकारी संस्थाहरुले श्वेत पत्र जारी गर्न अटेरी गरिरहेका छन् ।
कीर्तिपुर सहकारी संघ लिमिटेडमा आवद्ध ३९ सहकारी संस्थामध्ये दर्शन बचत तथा ऋण सहकारी संस्थाले बाहेक कसैले पनि श्वेत पत्र जारी गरेका छैनन् । कीर्तिपुरका नाम चलेका सहकारी जस्तै कीर्तिपुर बहुउद्देश्य सहकारी संस्था, बाध भैरब, प्रगतिशिल, उमा महेश्वर लगायतका कयौं सहकारीले श्वेत पत्र जारी गरेका छैनन् ।
यस विषयमा हामीले कीर्तिपुर सहकारी संघका पदाधिकारी, कीर्तिपुर नगरपालिका सहकारी शाखाका जिम्मेवार प्रतिनिधिलाई सोधेका थियौं, जवाफमा सहकारी संस्थामा समस्या आएमात्रै शेयर सदस्यलाई विश्वास दिलाउन श्वेत पत्र जारी गर्ने हो भन्ने जवाफ आएको थियो । तर, सहकारी नियमावली, २०७५ को नियम ७६(१)(झ)ले संस्थाको वित्तीय अबस्थाको विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
कीर्तिपुरका अधिकांस सहकारी संस्थामा अहिले बचतफिर्ताको माग बढेरको छ । जसले गर्दा संस्थागत विवरण सार्वजनिक गर्न हिच्कीचाइँ रहेको देखिन्छ । एक स्थानीयले भने,‘कीर्तिपुरका सहकारी संस्थाहरुले श्वेत पत्र जारी गर्न अटेरी गर्नु राम्रो होइन’। शेयर सदस्यहरुलाई संस्थाको वित्तीय अवस्थाका विषयमा जानकारी हुन आवश्यक छ । श्वेतपत्र सामान्यतया लुकेका विषयमा जानकारी गराउने, यथार्थता प्रस्तुत गर्ने, एक ढंगले गरिएको काम अर्को ढंगले प्रयोग गर्दा पहिले र पछिको अन्तर देखाउने, कुनै शासकले जथाभावी खर्च गरेको छ, तर त्यस विषयमा सरोकारवाला अनविज्ञ छन् भने जानकारी दिन श्वेत पत्र जारी गर्न आवश्यक छ । तर, कीर्तिपुरका ठुला सहकारी नै श्वेत पत्र जारी गर्न अटेरी गरिरहेका छन् ।
यता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत सहकारी विभागले ९ गते पुनः सूचना जारी गर्दै श्वेतपत्र जारी गर्न भनेको छ । सदस्यहरुको विश्वास र पारदर्शिताको माध्ययबाट मात्रै सहकारी संस्थाको प्रभावकारीता र दिगोपना कायम हुने भन्दै अनिवार्य श्वेतपत्र जारी गर्न भनेको हो ।
तर, विभागको निर्देशन अधिकांस सहकारी संस्थाले मान्ने दाउमा छैनन् । विभागले भनेको, विभागले उपलव्ध गराएको ढाँचामा तत्काल श्वेत पत्र जारी गरि सार्वजनिक गर्न भनेको छ । विभागले सहकारी नियमावली, २०७५ को नियम ७६(१)(झ) बमोजिम निर्देशन कार्यान्वयन गर्न भनेको हो ।