काठमाडौं,असोज ७। सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानविन गर्न जाँचबुझ आयोग गठनका विषयमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बीच छलफल भइरको छ। एक महिनाअघि आयोग गठन गर्ने सहमति भएपनि क्षेत्राधिकारका विषयमा भने मतभेद हुँदा गठबन्धन र एमालेबीच आयोग गठनका विषयमा सहमति जुट्न सकेको छैन। आइतबार आयोग गठन गर्ने र क्षेत्राधिकार के,के हुने भन्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता विष्णु पौडेल र सचेतक महेश बर्तौला तथा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए।बैठकपछि नेताहरुले छलफल सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन्।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको बताए । आयोग गठन गर्ने पूरानै सहमति हो। अहिले नमिलेको कुरा यसको क्षेत्राधिकार के हुने भन्ने हो। त्यसकार मुलतस् तीन वटा कुरामा छलफल भएको छ, लेखकले भने, पहिलो कुरा मौजुदा कानून र संरचनामा के,कस्तो परिवर्तन गर्नुपर्छ त्यसको सुधारकालागि सुझाव दिने हो। अर्को भनेको अहिलेको घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने कुरा हो । त्यसबारे छलफलमा एमाले सकारात्मक भएपनि त्यसबारे शीर्ष नेतृत्वसँग छलफलपछि मात्रै निर्णय दिने भनेपछि छलफल निष्कर्षमा पुग्न नसकेको लेखकले बताएका छन्।
गठबन्धन र एमालेबीच आयोगले पछिल्लो घटनामा शुन्यबाट अनुसन्धान गर्ने वा यसअघि सीआईबीले गरेको अनुसन्धानलाई टेकेर थप अनुसन्धान अघि बढाउने भन्ने विषयमा कुरा मिलेको छैन । प्रमुख सचेतक लेखकले राज्यका स्थायी संरचनाले गरेको अनुसन्धानलाई विश्वासमा लिएर थप अनुसन्धान गर्न सकिने गरी व्यवस्था गर्न सकिने बताए । तर एमालले भने सरकारले अहिले अनुसन्धान गर्न नसकेको भन्दै सुरुबाटै अनुसन्धान गर्नुपर्ने भन्दै आएको छ । बैठकपछि एमाले सचेतक बर्तौलाले आयोगको कार्यादेश स्पष्ट हुनुपर्ने अडान राखेको बताए । सरकारले यसअघि नै आयोग गठन गरिसक्नुपर्ने थियो ।
सरकारको तदारुकता देखिएन, उनले भने, यद्यपि आजको छलफल सकारात्मकरुपमा अघि बढेको छ। उनले आइतबारै आयोग गठन गरेर कार्यभार सुम्पिने गरी काम अघि बढाउन सुझाव दिएको बताए । नेताहरुका अनुसार एमाले नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने र त्यसपछि आइतबारै साँझ ५ बजे फेरि बैठक बस्ने तयारी भएको छ ।