Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पहिलोपटक राष्ट्रिय महिला उद्यमी सम्मेलन,देशभरिका महिला उद्यमी छलफलमा


पहिलोपटक राष्ट्रिय महिला उद्यमी सम्मेलन,देशभरिका महिला उद्यमी छलफलमा

काठमाडौं । महिला उद्यमीको विकास, विस्तार एवं प्रवर्द्धनका साथै महिला सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यसहित आजदेखि भैरहवामा दुईदिने राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलोपटक राष्ट्रिय महिला उद्यमी सम्मेलनको आयोजना गरेको हो ।

महिला उद्यमीद्वारा उत्पादित वस्तुको बजारीकरण गर्ने उपायको खोजी गर्ने सम्मेलनको उद्देश्य रहेको छ । सरकारको नीति तथा देशभरिका वित्तीय संस्थाका व्यवस्थापकमा अझै पनि महिलाको पहुँच हुन नसकेकाले महिला उद्यमी बढ्न नसकेको पाइएको छ । सो विषयमा समेत सम्मेलनमा व्यापक छलफल गरी समाधान खोज्ने जमर्कोसहित कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवं नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिकी संयोजक कमला श्रेष्ठले बताए।

सम्मेलनमा सातवटै प्रदेशबाट महिला उद्यमी सहभागी छन् । संयोजक श्रेष्ठले भने, “यसको मुख्य उद्देश्य देशैभरि छरिएर रहनुभएका महिला उद्यमीको पहिचान र उत्पादित वस्तुको बजारीकरण गर्नु हो ।” महिला उद्यमीका चुनौती तथा व्यवसाय गर्दा आइपर्ने समस्याको समाधान निस्किने गरी छलफल गरिने उनको भनाई छ । महिला उद्यमशीलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौती तथा युवा महिला उद्यमीले सुरुआतमा गरेका पहलबारे छलफल गरिने छ ।

नेपालको अर्थतन्त्रमा महिलाको पूर्णरूपमा सहभागिता होस् भन्ने अपेक्षा राखेको नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । महिलालाई काम गर्ने वातावरण तयार गर्नु नै सम्मेलनको उद्देश्य रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै गर्दा विशेषगरी युरोप र अन्य विकसित मुलुकमा नेपालले पाइरहेको भन्साररहित सुविधा बन्द हुने बताए ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले सम्मेलनबाट निस्केको निष्कर्षलाई प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा समेट्ने बताए । सम्मेलनमा ७७ वटै जिल्लाबाट झण्डै तीन सय महिला उद्यमी व्यवसायी तथा व्यवसाय सञ्चालनका लागि इच्छुक महिलाको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।