Saturday, July 05, 2025

२०८२ असार २१, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

कालिञ्चोकको कुरीमा निर्माण भएका भौतिक संरचनाको स्वामित्वका विषयमा लिखित जवाफ पेस गर्न निर्देशन


कालिञ्चोकको कुरीमा निर्माण भएका भौतिक संरचनाको स्वामित्वका विषयमा लिखित जवाफ पेस गर्न निर्देशन

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिकाले धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा निर्माण भएका भौतिक संरचनाको स्वामित्वका विषयमा लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिले असोज ३० गतेभित्र आफूले उपभोग गरिरहेको जग्गाको स्वामित्वको विषयमा गाउँपालिकालाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।

समितिले असोज १६ गते कुरी क्षेत्रका स्थानीयसँग छलफल गरी १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिका संयोजकसमेत रहेका गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार कुरीमा बनेका संरचनाको प्रकार, बनाएको मिति, संरचना बनेको जग्गाको क्षेत्रफल, कुन आधारमा बनाइएको, कसले बनाएको भन्नेबारे तीनपुस्ते विवरणसहित गाउँपालिकामा लिखित रूपमा जानकारी गराउन भनिएको छ । गाउँपालिकाको निर्देशनपछि कुरीका १२ जना घरधनीले विवरण उपलब्ध गराएका छन् ।

कालिञ्चोक गाउँपालिकाले गत माघ २३ गते उपाध्यक्ष बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समिति गठन गरेको थियो । सो समितिमा वडा नं.१ का वडाध्यक्ष पदमबहादुर थामी, वडा नं.६ का वडाध्यक्ष भरत पाण्डे, वडा नं.९ का वडाध्यक्ष रामप्रसाद मैनाली र गाउँपालिकाको प्रशासन शाखाका एक जना कर्मचारी सदस्य रहेका छन् । समितिले स्थानीयबाट विवरण आएपछि त्यसमाथि अनुसन्धान गरी आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले कालिञ्चोक मन्दिर आसपासमा अवैध रूपमा बनेका घरटहरा व्यक्तिले नहटाए गाउँपालिकाले हटाउने बताए ।

गत साउन ८ गते जिल्ला समन्वय समिति, कालिञ्चोक गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको टोलीले एकैसाथ कुरी बजार क्षेत्र र मन्दिर क्षेत्रको अनुगमन गरी मन्दिर आसपास बनाइएका संरचना तत्काल हटाउन र कुरीका होटललाई अनिवार्य मेनु राख्न निर्देशन दिएको थियो ।