Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना भयोःराष्ट्रपति रामचन्द्र पौडेल


भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना भयोःराष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सिर्जना गर्ने बताए । उनले यसले राष्ट्रको नैतिक धरातल भासिँदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्नेमात्र होइन राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्ने हुनजान्छ ।”

उनले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थानबिन्दु भएको स्पष्ट पारे । विद्यमान कार्यसंस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुन सक्ने उनको भनाइ थियो । राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्ने बताए ।

जनमुखी विकासबाट नागरिकमा सकारात्मक सन्देश जाने र प्रशासनिक क्षेत्रलाई पनि सोहीअनुरुप चुस्त र दुरुस्तरुपले अघि बढ्न मद्दत मिल्नेछ भन्दै उनले प्रकृति मानिसका आवश्यकता पुरा गर्न सक्षम छ तर मानिसको लोभ पुरा गर्न सक्षम छैन भन्ने पूर्वीय दर्शनको मान्यतालाई अनुसरण गर्नु आजको आवश्यकता भएकोमा जोड दिए ।

राष्ट्रपति पौडेलले सुशासन लोकतन्त्रको प्राणवायु हो भन्दै मुलुकमा उपलब्ध प्राकृतिक, मानवीय र सांस्कृतिक सम्पदाहरूको उपयोग र सुदृढीकरण गर्दै आर्थिक समृद्धि तथा सामाजिक न्याय हासिल गर्न भ्रष्ट्राचार नियन्त्रण अनिवार्य सर्त हो भने ।

हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व, आयोगले तयार गरेको संस्थागत रणनीतिक योजना र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताअनुरुप हामी सबैले मुलुकको हित र कल्याण तथा अन्तर्राष्ट्रिय छविको लागि आफ्नो जीवनशैलीलाई सरल, इमानदार, पारदर्शी र सदाचारयुक्त बनाउन आवश्यक रहेको उनले बताए ।

राष्ट्रपति पौडेलले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान छानविन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन बरु ठूला प्रकृति र कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भए पनि उनीहरूलाई कानुनको दायरामा ल्याउन पछि पर्न हुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिए ।

उनले मुलुकमा भ्रष्टाचारविरुद्ध जागरण आउनेछ र विश्वस्तरीय भ्रष्टाचार सुचकांकमा नेपालको स्तरमा क्रमशः सुधार हुने विश्वास व्यक्त गरे । साथै, तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारजगतलगायत प्रत्येक नागरिकलाई भ्रष्टाचारविरुद्धको अभियानमा सक्रियतापूर्वक सहभागी भई हातेमालो गर्नसमेत उनले आव्हान गरे ।