काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ‘बीआरआई’ परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेकोबारे बताएकी छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस मिटमा उनले सो जानकारी दिएकी हुन् । साथै उनले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताइएकी छिन् ।
डा राणाले अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट गरिन् । उनले भनिन्, ‘यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली काँग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ । त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफलहरु गरिरहेका छौँ।’
मन्त्री राणाले नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत सम्बन्ध रही आएको भन्दै यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय समयमा उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भएको बताइन् ।
मन्त्री राणाले यस भ्रमणका क्रममा हिजो चिनियाँ विदेशमन्त्री वाङ यीसँग गरेको द्विपक्षीय भेटवार्ता सौहार्दपूर्ण रहेको पनि जानकारी दिइन् । त्यस वार्तामा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको उनको भनाई थियो ।
समकक्षी वाङसँग हिजो हार्दिक र सौहार्दपूर्ण वातावरणमा वार्ता भएको र दुबै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको उनले बताइन् ।