काठमाडौं । बुधबार सेयर बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.४६ अंक घटेर २०२६ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा २८ प्रतिशत घटेको छ । अघिल्लो दिन ३ अर्ब ११ करोडको कारोबार भएकोमा आज २ अर्ब २४ करोडमा खुम्चियो । कुल ८० कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ९ को स्थिर रह्यो ।
उत्पादनबाहेकका सबै समूह घटे । सबै समूहको गिरावट दर १ प्रतिशतभन्दा मुनि रह्यो । उत्पादन समूह भने २.८४ प्रतिशत बढ्यो । बोटलर्स नेपालका दुबै कम्पनी बालाजु र तराईको मूल्य १० बढ्दा समग्र उत्पादन समूह बढ्न पुगेको हो ।
बैंकिङ ३, विकास बैंक २४, फाइनान्स ४, होटल तथा पर्यटन ३८, हाइड्रोपावर २३, जीवन बीमा २९, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३२, अन्य १५ र ब्यापार समूह १० अंक घटे । उत्पादन समूह १६३ अंक बढ्यो ।