काठमाडौँ । काठमाडौं महानगरपालिकाले चार वटा खाने तेलमा पेरोक्साइडको मात्रा धेरै पाइएपछि भन्दै दुई—दुई लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी मापदण्ड विपरीत तेल उत्पादन गरी बिक्री बितरण गरिरहेको भन्दै महानगरपालिकाले जरिवाना गरेको हो ।
बुधबार महानगरपालिकाले १३ वटा ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटामा पेरोक्साइडको मात्रा सरकारले तोकेको भन्दा उच्च रहेको पाइएको थियो । महानगरका अनुसार श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मोराङ्को उत्पादनमा सरकारले सोयाविन तेलका लागि अनिवार्य तोकेको गुणस्तर नभई मापदण्डभन्दा धेरै पेरोक्साइड र एसिडको मात्रा पाइएको जनाइएको छ ।
अन्य दुई रिफाइन तेलमा सरकारले तोकेकोभन्दा कम मापदण्ड पाइएको जनाएको छ । २०८० कात्तिक, बीरगञ्जमा उत्पादित अन्नपूर्ण भेजिटेवल प्रोडक्टको ‘अमृत ब्राण्ड’ व्याचरलट नं. ११ को रिफाइन सोयाबिन तेलमा र २०२४ अप्रिलमा विराटनगरमा उत्पादित क्वालिटी आयल रिफाइनरीको ‘क्वालिटी ब्राण्ड’ व्याचरलट नं. ०८ को तेलमा सरकारले तोकेको मापदण्ड नपाइएको महानगरले जनाएको छ ।
यस्तै, शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन तेलमा पनि पारोक्साइड मात्रा मापदण्डमा नरहेको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने ब्राण्डहरु हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।