Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुलुकको अर्थतन्त्रका विषयमा किन खुलेर बोल्दैनन् विज्ञहरु, काम गर्ने शैली परिवर्तन हुन्छः अर्थमन्त्री पुन


मुलुकको अर्थतन्त्रका विषयमा किन खुलेर बोल्दैनन् विज्ञहरु, काम गर्ने शैली परिवर्तन हुन्छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा संसद्मा छलफल चलिरहेको बताउँदै अर्थमन्त्री पुनले सरकारले लिने नीतिहरु परिवर्तन नहुने तर कार्यशैली परिवर्तन हुने बताए। अर्थतन्त्रमा देखिएको शिथिलता, बेरोजगारीलगायत कारण चौतर्फी रुपमा निराशा छाइरहेको बेला सरकारले आशा जगाउने गरी काम गर्ने उनले दाबी गरे । बैङ्कसँग ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य नहुने पनि उनले स्पष्ट पारे ।

धार्मिक, सामाजिक अतिवाद र समाजलाई विखण्डन गर्न खोज्नेलाई सरकारले कारबाही गर्ने अर्थमन्त्रीले दोहो¥याए । पछिल्लो समय सबै क्षेत्रमा नकरात्मकता फैलिँदै गएकामा पनि उनले चिन्ता व्यक्त गरे । सुशासन, आर्थिक समृद्धि, सामाजिक न्यायलाई वर्तमान सरकारले केन्द्रमा राखेको पनि उनले बताए ।


अहिले अर्थतन्त्रमा शिथिलता देखिएपनि साह्रै कमजोर अवस्थामा भने नरहेको उनले बताए । सरकारको वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्यता हुन नसकेको विषयमा गभर्नर लाई मात्र दोष लगाउने नभई राष्ट्र बैङ्कको सञ्चालक समिति पनि उत्तिकै जिम्मेवार हुने बताए । नेपालमा सबैभन्दा राम्रो व्यवस्थापन भएको क्षेत्रको रुपमा बैकिङ क्षेत्र चिनिने उल्लेख गर्दै अर्थमन्त्री पुनले अहिले कुनै पनि बैङ्क समस्यामा नरहेको स्पष्ट पारे ।

बजारमा अधिक तरलता हुँदा कसरी व्यवस्थापन गर्ने भनेर नियामक राष्ट्र बैङ्कले सोच्नुपर्ने पनि उनको भनाई छ । दिगो र हरित पूर्वाधारमा लगानी नेपालको प्राथमिकतामा रहेकोमा त्यसलाई बैङ्क तथा वित्तीय संस्थाले पनि प्राथमिकतामा राखेर कर्जा विस्तार गरिनुपर्ने गभर्नर अधिकारीको भनाइ छ । बैङ्क तथा वित्तीय संस्थाबाट भइरहेको लगानीले मुलुकको अर्थतन्त्र विस्तारमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै उनले आफुले लगानी गर्दा बैङ्क तथा वित्तीय संस्थाले प्राकृतिक प्रकोप र विपद्का चुनौती बारे सजग हुनुपर्ने बताए। दिगो र हरित पूर्वाधारका क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा गभर्नर अधिकारीले बताए ।


नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय नेपालको बैङ्किङ क्षेत्रका बारेमा विभिन्न खालका चुनौतीको सामना गर्नु परेको बताए। मौद्रिक सूचक सकारात्मक छन् । विदेशी मुद्रा सञ्चिति पर्याप्त छ । भुक्तानी सन्तुलन कायम भएको छ । राजस्व बढ्दो क्रममा छ ।” बैङ्किङ क्षेत्रमा करिब रु ६१ खर्ब बराबरको निक्षेप संकलन र रु ५१ अर्ब बराबरको कर्जा प्रवाह भएको उनको भनाई छ ।

राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्मेलनबाट वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्र र बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएका समस्याबारे छलफल गर्ने र विज्ञहरुबाट सुझाव लिने अपेक्षा गरेको बताए । बैङ्कले प्रादेशिक रुपमा यस्ता कन्फ्रेन्स आयोजना गर्दै आएको भएपनि राष्ट्रिय रुपमा पहिलोपटक आयोजना गरिएको सिईओ श्रेष्ठले बताए ।