काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आगामी तीन महिनाभित्र यो सबस्टेसनका काम सक्ने गरी अन्तिम चरणका कामहरु भइरहहेको छ । सोही आयोजना अन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन पनि डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचना निर्माण धमाधम भइरहेको छ ।
धारापानी र खुदी सबस्टेसनमा क्रमशः २२०—१३२ केभी, १०० एमभीए तथा १३२—३३ केभी, ३० एमभीए र २२०—१३२ केभी, १६० एमभीए तथा १३२—३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहनेछन् ।
दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत आपूर्तिका आवश्यक व्यवस्था गरिएको छ । यी दुवै सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास प्राधिकरणको छ ।