काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन ।
नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा आज तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए ।
उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे । उनले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिए । मानव सभ्यतामा धर्म, संस्कृति र भेषभूषा अमूल्य सम्पत्ति भएकाले आ–आफ्नो जाति र समुदायअनुसारको संरक्षणमा आफैँ जुट्न आग्रह गरे ।
अर्थतन्त्र बलियो बनाउनसके जनता र राज्य दुवै बलियो हुने भन्दै उनले बलियो नेतृत्वले आफ्नो संस्कृति, परम्परा र राष्ट्रियता जोगाउन आफैँ सक्षम हुने उल्लेख गरे ।