काठमाडौँ । काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र इमेल र हुलाकमार्फत सत्तारुढ दल नेकपा एमालेलाई पठाइएको छ ।
आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो । ‘सोमबार बिहान हामीले हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएका छौ’, काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए ।
एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।
एमालेले कार्यक्रम सकेलगत्तै त्यस स्थानको फोहोर पार्टीका स्वयंसेवकहरूले जम्मा पारेर महानगरलाई ट्रक पठाउन आग्रह गरेको तर महानगरले ट्रक पठाउनुको साटो जरिवानाको पत्र सार्वजनिक गरेको भन्दै मेयर बालेन साहप्रति आक्रोश पोखेको छ ।
एमालेले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा आयोजना गरेको थियो ।
महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको पत्रमा उल्लेख गरेको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन् ।