काठमाडौँ । नेपाललाई थाइल्याण्डसँग जोड्दै बैंककको थाई एयर एसियाले बुधबारदेखि व्यवसायिक उडान सुरु गरेको छ । यो रुटमा उडान गर्ने यो चौथौ वायुसेवा कम्पनी हो । यसअघि यो रुटमा नेपाल वायुसेवा निगम, थाई एयर, थाई लायनले उडान गर्दै आएका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार थाई एयर एसियाको नेपालमा पहिलोपटक उडान सेवा सुरु भएको हो । यसले काठमाडौंपछि बैंककबाट भैरहवा उडान गर्ने अनुमति पाएको छ ।
पहिलो उडानमा बुधबार बैंककबाट १ सय ५६ यात्रु काठमाडौं आएका थिए भने काठमाडौंबाट १ सय ५९ यात्रु बैंकक जादै छन् । प्राधिकरणका अनुसार, नेपाल–थाइल्याण्ड रुटमा अब चारवटा वायुसेवा भएका छन् । यिनले सातामा २८ वटाको उडान अनुमति प्राधिकरणबाट लिएका छन् । यो तथ्यांक अनुसार, बैंकक–काठमाडौं रुटमा दैनिक ४ वटा उडान हुने छन् ।
हाल थाई एयरले दैनिक दुइटा उडान गर्दै आइरहेको छ । थाई एयर एसियालाई प्राधिकरणले एक महिनाअघि सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिएको थियो ।
भैरहवामा कुन समयमा उडान गर्ने भन्नेबारे बुधबार काठमाडौंमा आइपुगेको प्राविधिक टोलीले अध्ययन गरेर प्राधिकरणलाई जानकारी दिने जनाएको छ । नेपालमा बढी पर्यटक आउने पाँचौ मुलुकमा थाईल्यान्ड पर्छ । ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिर्भसल टुर्स एण्ड ट्राभल्समार्फत रहेको छ ।