काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घराना अदानी ग्रुप सिमेन्ट व्यवसाय अभिवृद्धिका लागि रणनीतिक साझेदारी भएको छ । नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले अदानी ग्रुपसँग सहकार्य गरिएको चौधरी गु्रप जनाएको छ । चौधरी ग्रुपले हाल सीजी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
यो सिमेन्टको भारतका विभिन्न राज्यहरूमा निर्यात गरी बजारीकरण गर्ने उद्देश्यले अदानी समूहसँग साझेदारी भएको हो । ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले दुबै समूहको सिमेन्ट व्यवसायमा साझा दृष्टिकोण रहेकाले रणनीतिक साझेदारी भएको बताए ।
‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौं’ प्रवन्ध निर्देशक चौधरीले भने । दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा यो सहमति एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने उनले बताए । पछिल्लो समय नेपालबाट भारतमा सिमेन्टको निर्यात बढ्न थालेको छ । दुई ग्रुपबीचको यो साझेदारीले नेपालको सिमेन्ट निर्यातमा टेवा पुग्ने छ ।