Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्व डीआईजी जोशीलाई आज कास्की अदालतमा उपस्थित गराइने


पूर्व डीआईजी जोशीलाई आज कास्की अदालतमा उपस्थित गराइने

पोखरा । विभिन्न सहकारीबाट गोर्खा मिडिया प्रालिमा गएको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई आज जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरीले जनाएको छ ।

६५ करोडभन्दा धेरै सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरिएको अभियोगमा पूर्व सञ्चालक जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया, रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने, दिपेश पुनसहित ४ व्यक्ति र १४ संस्थालाई विपक्षी बनाएर गत साल माघ २२ गते जाहेरी दिएका थिए । सूर्यदर्शनको मुद्दा अदालतमा पुगिसकेकाले प्रहरीले त्यसलाई पुरक जाहेरीका रूपमा राखेको थियो ।

सूर्यदर्शनलगायत विभिन्न सहकारीको अपचलनमा लामिछानेको पनि संलग्नता रहेको भन्दै चौतर्फी विरोध, नेपाली कांग्रेसको संसद अवरोधपछि एमाले सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो । त्यही सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै जोशी पक्राउ परेका हुन् । पोखराको सूर्यदर्शनबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ ।

त्यही गोर्खा मिडियाविरूद्ध कास्कीमा जाहेरी परेकाले जोशीलाई पोखरा लगिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरेर उनलाई प्रहरी हिरासतमा राखिने कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । 

संसदीय कारबाही सिफारिस गरेका राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन  (इन्टरपोल) मा रेड नोटिस जारी छ भने रम्तेल पुर्पक्षका लागि थुनामा छन् । गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक लामिछाने पनि पक्राउ पर्न सक्ने भन्दै नेता कार्यकर्तासँगै सिंगो रास्वपा सशंकित देखिएको छ । रविविरूद्ध पनि कास्कीमा जाहेरी परेकाले उनी पनि पक्राउ परे पोखरा नै ल्याइने प्रहरीले जनाएको छ ।