काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्यान्डफिलका रुपमा प्रयोग गर्दै आइरहेको नुवाकोटको बन्चरेडाँडा सञ्चालनमा भएका सहमतिको कार्यान्वयन गर्न जनप्रतिनिधिले सरकार समक्ष माग गरेका छन् । काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइडका कारण स्थानीयको जीवन कष्टकर बनेको भन्दै जनप्रतिनिधिले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसदहरु सहित नुवाकोटका जनप्रतिनिधि र स्थानीयको टोलीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बन्चरेडाँडा ल्यान्डफिल साइड सञ्चालनका क्रममा भएका सहमति कार्यान्वयन र त्यस क्षेत्रको विकासमा सरकारले विशेष लगानी गरिदिनुपर्ने माग राखेका हुन् । त्यसक्रममा उनीहरुले नुवाकोटको विकासको मेरुदण्ड मानिएको तीनपिप्ले–पिपलटार सडक खण्डको कालोपत्र गरिदिन माग गरे ।
सरकारले आधा खण्डमा मात्रै कालोपत्रे गर्न बजेट छुट्याएको भन्दै उनीहरुले यथासिघ्र पुरै सडक कालोपत्रे हुने गरी व्यवस्था गरिदिन माग गरे । काँग्रेस नेता अर्जुननरसिंह केसी, जगदीश्वर नरसिंह केसी, सीता मिजार तथा नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङ र विमला सुवेदी लगायत नेता प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए ।