काठमाडौं । आज राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकाः साझेदारी र प्रणालीगत सक्षमता भन्ने नाराका साथ दिवसका सन्दर्भमा काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन् । सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसकोरुपमा मनाउन थालेको हो ।
संघीय सरकारले यसवर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिमार्फत् दिवस विशेष कार्यक्रमहरू गर्दैछ । समितिले देशभर विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन समेत गरेको छ । शिक्षा मन्त्रालयले बुधबार दिवसका सन्दर्भमा यसवर्षको नेपाल विद्याभूषण क, ख र ग नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक क र ख एवम् छात्रा पुरस्कार घोषणा गर्दैछ ।