काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको हो ।
‘दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको छ,’ अर्यालले भनिन् । मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुने उनले बताइन् । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो । निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।