काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिने शुक्रबार आज अन्तिम दिन रहेको छ । गत साउन ३२ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो ।
निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो ।