काठमाडौं । कीर्तिपुर नगरपालिकाले आज बालमैत्री, वातावरण मैत्री स्थानीय शासन र विपद् व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले असल छिमेकी नेपाल, नेपाली जुटौं, बालविवाह रोकौं र वल्र्ड भिजनको सहकार्यमा मंगलबार आफ्नै भवनमा सो कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा नगरपालिकाकी मेयर शुभलक्ष्मी शाक्यले नगरलाई बालमैत्री, वातावरण मैत्री बनाउन नगरपालिकाले विभिन्न योजना ल्याएको बताउँदै स्थानीय शासन र विपद् व्यवस्थापन सम्बन्धी शिक्षा अपरिहार्य रहेको हुँदा विद्यालयस्तरबाट नै यसप्रति अहम् भूमिका निभाउनुपर्ने कुरामा जोड दिईन् । यसका लागि नगरपालिकाले स्थानीय विद्यालयहरुलाई सक्दो सहयोग गर्ने पनि जानकारी दिईन् ।
‘असल अभिभावक र बालबिालिकाको अर्थपूर्ण सहभागीता सहितको सुसंस्कृत बालमैत्री कीर्तिपुर नगर’ भन्ने अभियानका साथ नगरपालिकाले सञ्चालन गरेको सो अभिमुखीकरण कार्यक्रममा नगरका उपप्रमुख सहित विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकशिक्षकाहरुको सहभागीता रहेको थियो ।