काठमाडौं । नारायणगढ—मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरो र भएको क्षतिको अवलोकन गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु आज चितवन जाँदै छन् । सो स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जारी छ ।
त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज बिहान ७ बजेदेखि खोजी भइरहेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयका अनुसार गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरुको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको छ ।
आइतबार ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरेर बस खोजिँदै छ । शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन–नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए । बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भए पनि अरु बेपत्ता छन् । हालसम्म तीनवटा शव भेटिएका छन् ।