काठमाडौं । कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले असार मसान्तभित्र बचत फिर्ता गर्ने भएकाले विभिन्न संघर्ष समिति बनाई धर्ना नदिन बचतकर्ताहरुलाई आग्रह गरेको छ । सहकारीका अध्यक्ष दिनेश दर्शनधारीले आज एक विज्ञप्ती जारी गर्दै यसअघि भएका सहमति अनुरुप नै बचतफिर्ताको कार्ययोजना बनाई कार्यान्वयनको पक्षमा रहेकाले आन्दोलनको औचित्य नभएको बताएको छ ।
विज्ञप्तीमा भनिएको छ, पछिल्लो समय देशमा बढ्दो आर्थिक तरलता र सहकारी संस्थामाथि बढ्दो निक्षेप फिर्ताको चापले समग्र सहकारी संस्थाहरु समस्या छन् । यो समस्याबाट हाम्रो सहकारी पनि अछुतो रहन सकेन । अहिले विषमपरिस्थीतिमा निरन्तर हामी हाम्रा भगवानरुपी शेयर सदस्य तथा बचतकर्ताहरुको बचतफिर्ताकालागि रातदिन कटिवद्ध भएर काम गरिरहेका छौं ।
तर, पछिल्लो समय दर्शन सहकारीका विरुद्धमा विभिन्न संघर्ष समितिको नाममा भइरहेका धर्ना, आन्दोलनप्रति हाम्रो गम्भीरध्यानाकर्षण भएको छ । छलफल वार्ता मार्फत समस्याको समाधन गर्न सकिने अवस्था हुदाहुँदै कार्यालयमा आई नाराबाजी गर्ने, धर्ना दिने तथा कर्मचारीहरुमाथि धम्की बढ्न थालेपछि त्रास बढेको छ । यो अबस्था आउनु दुःखको विषय हो । मिति २०८१ असार १८ गते अनामनगरमा रहेको आदीवासी सेवा केन्द्रका केहि बचतकर्ताहरुले कीर्तिपुरमा रहेको दर्शन साकोसको केन्द्रीय कार्यालयमा दिएको धर्नामा हाम्रो थप गम्भीरध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ ।
देशै आर्थिक संकटमा रहेका समयमा सहकारी जस्तो सानो वित्तीय संस्थाले के गर्न सक्छ ? पटक—पटक छलफल र वार्ता भएपनि त्यसलाई वेवास्तागरि बचतकर्ताहरुले निरन्तर गर्नुभएको आन्दोलनप्रति सञ्चालक समिति निकै दुखी भएको छ । सहकारीका विरुद्धमा विभिन्न संघर्ष समिति बनाई हामी सञ्चालकलाई कामगर्ने वातावरणमा रोकावट नगरिदिन सबैमा अनुरोध गर्दछौं अध्यक्ष दर्शनधारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बागमती प्रदेश सहकारी महाशाखा, सम्बन्धीत निकायहरुमा हामीले बचतफिर्ताकालागि कार्यायोजना पेस गरिसकेकाले सोहि अनुरुप असार मसान्तभित्रमा पहिलो चरणमा बचत फिर्ता गर्दैछौं विज्ञप्तीमा उल्लेख छ । यसकालागि आवश्यक रकम जम्मा गर्न संस्थाका सचिव यशोदा राईको संयोजकत्वमा सम्पत्ती व्यवस्थापन समिति बनाए संस्थाले जनाएको छ । सो समितिले पछिल्लो समय तत्काल विक्रि हुने जस्तै, सवारी साधन लगाएतको विक्रि वाफत रकम जम्मा गरेको विज्ञप्तीमा उल्लेख छ ।
कार्ययोजना अनुसार रकम फिर्तागर्न सम्बन्धीत निकाय, प्रदेश सहकारी महाशाखा, विभागीय मन्त्री लगायतबाट परिपत्र भएकाले थप केहि समय धैय गरिदिनुहुन सबै शेयर सदस्य तथा बचतकर्ताहरुमा अनुरोध गर्दछौं विज्ञप्तीमा भनिएको छ । साथै विभिन्न नाममा संघर्ष समिति बनाई कार्यासम्पादन प्रभावित पार्नु भन्दा एउटा सहजिकरण समिति बनाइ वार्ता र छलफलमा आउन सस्थाले आग्रह गरेको छ ।