काठमाडौं । सडक विभाग अन्तरगतको सडक डिभिजन काठमाडौं परिसरभित्र कै बाटो हिलाम्मे भएको तस्विर सामाजिक सञ्जालमा पोष्ट भएपनि विज्ञ नबन्न आग्रह गरेको छ ।
सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्वीर नै राखी सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति खेद प्रकट गर्दै विभागले सामान्य झरीले विभागको कार्यालय परिसरभित्रैको सडक हिलाम्मे भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको भन्दै असन्तुष्टि जनाएको हो ।
विभागले वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन्न चेतावनी दिएको छ । विभागले चालु आर्थिक वर्षमा बजेट कम भएका कारण यो सडक स्तरोन्नती गर्न सडक बोर्डतर्फको बजेटबाट ठेक्का गरिएको बताएको छ ।
यो काम यसै वर्ष सकिने गरी १६ माघमा सम्झौता भइसकेको विभागको भनाई छ । २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको बबरमहल प्रवलीकरणको काम गर्न ठेक्का लगाए पनि सडकको काम सो ठेक्काभित्र समावेश नभएको विभागका सुचना अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
गत भदौ ६ बाट चाकुपाटबाट बबरमहलको आफ्नै भवनमा सञ्चालन भए पनि विभागले आफ्नै कार्यालय परिसरको सडक ६ महिनामा पनि मर्मत गर्न नसकेको भन्दै तस्विर सार्वजनिक भएपछि आलोचना बढेको थियो ।