कीर्तिपुर । कीर्तिपुर नगरपालिका वडा—३ स्थीत ऐतिहासिक मभिं पुखु पोखरीमा निर्माणाधिन संरचनाका विषयमा स्थानीयबीच नै मत बाझिएको छ । केहिदिन अघि केहि स्थानीयहरु निर्माणको काम रोक्न माग गर्दै पुरातत्व विभागमा पुगेका थिए । बुधबारमात्रै पोखरीको संरक्षणको जिम्मा लिइरहेको स्थानीय पासा पुच कल्बले स्थानीयहरुसँग छलफलगरि संरचना निर्माणको काम नरोक्ने निर्णय गरेको हो । कल्बले बन्दै गरेको संरचनाले कुनै पनि इतिहास नमेटिने भन्दै पोखरीकै सुन्दरताकालागि गरिएको आयोजनामा अबरोध नगर्न सबैमा अनुरोध पनि गरेको छ । भेलाले सो पोखरी नेवाःमौलिक स्वरुप र शैलीमा निर्माण हुनेमा कुनै आशंका नगर्न स्थानीयमा आग्रह गरेको छ ।
कल्बले आयोजना गरेको भेलाले उमेश महर्जनको संयोजकत्वमा ९ सदस्यीय कार्यदल बनाएको छ । जुन कार्यदलले पोखरी निर्माण कार्यमा उत्पन्न परिस्थिीतिलाई सहज बनाउन सम्बन्धीत पक्षहरुसँग छलफलकालागि सहजिकरण गर्ने छ । भेलाले कीर्तिपुर—३ खशिबजार स्थीत पोखरीमा निर्माणाधिन संरचनामा स्थानीयको कुनै बाधा वा मतभेद नभएको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ । त्यस्तै भेलाले पुरातत्व विभागबाट प्राप्त पत्रको जावाफ स्थानीयको हस्ताक्षरसहित पेस गर्ने निर्णय गरेको छ ।
यता, केहि स्थानीयले भने कीर्तिपुर नगरपालिका, वडा कार्यालय तथा सम्बन्धीत निकायमा पटक—पटक ध्यानाकर्षण गराउदा पनि संरचना निर्माणको काम नरोकिएको भन्दै पुरातत्व विभागमा ध्यानाकर्षण गराएका थिए । सो कार्यको अगुवाई गरिरहेका अधिवक्ता डा.सुरेन्द्र मानन्धरले ‘कीर्तिपुरवासीलाई पोखरी पोखरीकै रुपमा चाहिने भएपनि सम्पदालाई सम्पदाकै रुपमा राख्नु पर्ने बताएका थिए । मुख्य पोखरीमा सिमेन्ट, रड तथा इट्टाद्धारा संरचना निर्माण भएकाले पोखरीको अस्तीत्व नै मेटिने भन्दै मानन्धरले काम राक्न सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको थिए ।
पोखरीमा निर्माणाधिन संरचनाका विषयमा अहिले सामाजिक सञ्जालमा चर्काे बहश भइरहेको छ । केहि स्थानीयले पोखरीमा निर्माणाधिन संरचनामा राजनीतिक दाउपेच भएको बताए । एक स्थानीयले भने, अहिले कीर्तिपुर नगरपालिकाभित्र राजनीति दाउपेच निकै बढ्दो छ, सत्तापक्षले प्रतिपक्षको भनाइ नमान्ने, प्रतिपक्षले सत्ता पक्षलाई नमान्ने परिपाटी बढेको छ । सिधा कुरा, कीर्तिपुर नगरपालिकाभित्र संस्थागत भ्रष्ट्राचार बढ्दो छ । सिमित व्यक्तीको स्वार्थमा नगरपालिका चलिरहेको छ । यसअघि पनि विभिन्न विकास निर्माणमा प्रक्रिया नपुग्दा खबरदारी भएका हुन तर, कार्यान्वयन नभएन ।
यसैबीच, पुरातत्व विभागले कीर्तिपुर नगरपालिका वडा नं.३ स्थीत मभिं पुखु पोखरीको जिर्णाेद्धार तथा आसपासमा निर्माण भइरहेको संरचनाका विषयमा चासो व्यक्त गरेको छ । विभागमा आज एक विज्ञप्ती जारी गर्दै विश्व सम्पदाको सम्भावित सूचीमा रहेको कीर्तिपुर क्षेत्रमा रहेका प्राचीन संरचनाको जीर्णाेद्धार तथा मर्मतका कुनै पनि निर्माण कार्य गर्न विभागसँग अनुमति लिनुपर्ने भन्दै स्मरण गराएको छ । केहि दिनअघि मात्रै कीर्तिपुर नगरपालिका क्षेत्रका स्थानीयले सो पोखरीमा बन्दै गरेको संरचना रोक्न विभागको ध्यानाकर्षण गराएका थिए । विभागको विज्ञप्तीमा भनिएको छ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार ऐतिहासिक पोखरीहरु प्राचीन स्मारक अन्तरगत पुरातत्व विभागको संरक्षणमा रहने देखिन्छन् । सोही ऐन बमोजिम कीर्तिपुरस्थित ऐतिहासिक मभिं पुखु पोखरी प्राचिन स्मारक अन्र्तगत पर्ने र सो पोखरीको जीर्णाेद्धार तथा आसपासमा गरिने निर्माण कार्य पुरातत्व विभागको समन्वय र सहमतिमा गरिनुपर्दछ ।
साथै कीर्तिपुरस्थित मध्यकालीन वस्ती विश्व सम्पदाको सम्भावित सूचीमा समेत रहेकाले सो क्षेत्रका सबै प्राचीन स्मारक एवं पुरातात्विक वस्तुहरुको उचित संरक्षण मार्फत सो क्षेत्रको सांस्कृति मूल्य काम राख्न विभाग प्रचलित कानुन बमोजिम कार्यरत छ ।