Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगन्जका दुवै भन्सार कार्यालयबाट हुने आयातमा उल्लेखनीय सुधार


वीरगन्जका दुवै भन्सार कार्यालयबाट हुने आयातमा उल्लेखनीय सुधार

काठमाडौं । मधेश आन्दोलनको क्रममा भएको वीरगन्ज भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७३—७४ सालदेखि नै वीरगन्जका दुवै भन्सार कार्यालयबाट हुने आयातमा उल्लेखनीय सुधार देखिएको छ । सो आवमा रु नौ खर्ब ८४ अर्ब ३० करोड आयातमध्ये वीरगन्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव १२ प्रतिशत रह्यो भने सुक्खा बन्दरगाह कार्यालयको भने ११ दशमलव ७६ प्रतिशत रह्यो । सोही आवमा भैरहवा भन्सारको भने १८ दशमलव ५५ प्रतिशत रह्यो ।

यस्तै, आव २०७४—७५ मा पनि नेपालमा १२ खर्ब ४५ अर्ब १० करोड मूल्य पर्ने सामान आयात भएको देखिन्छ । यसमा वीरगन्ज भन्सार र सुक्खा बन्दरगाहको हिस्सा क्रमशः ३३ दशमलव ८९ र १० दशमलव ४९ प्रतिशत रह्यो । जसमा भैरहवा भन्सारको योगदान भने १७ दशमलव ९९ प्रतिशत थियो ।

विभागका अनुसार आव २०७५-७६ मा रु १४ खर्ब १८ अर्ब ५३ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकबाट भित्रियो । जसमा वीरगन्ज भन्सारको योगदान ३४ दशमलव ७३ प्रतिशत, भैरहवा भन्सारको योगदान १६ दशमलव ९२ र सुक्खा बन्दरगाहको योगदान भने १० दशमलव ९२ प्रतिशत रह्यो ।

वि।सं। २०७६ चैतको पहिलो सातादेखि कोभिड– १९ को महामारी नियन्त्रण गर्न भन्दै गरिएको बन्दाबन्दीको कारणले पनि अघिल्लो वर्षको तुलनामा मुलुकभरिको समग्र आयातमा नै सङ्कुचन आयो । सो आवमा रु ११ खर्ब ९६ अर्ब ७९ करोड मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएको थियो । कुल आयातमध्ये वीरगन्ज भन्सार नाका हुँदै ३४ दशमलव ३७ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह हुँदै भने १३ दशमलव ८४ प्रतिशत र भैरहवा हुँदै भने १६ दशमलव ६१ प्रतिशत आयात भएको देखिन्छ ।

कोभिड–१९ को महामारीको कारणले सङ्कुचित आयात आव २०७७-७८ मा भने उल्लेखनीय सुधार हुँदै रु १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार बराबरको वस्तु तथा सामान आयात भयो । कुल आयातमध्ये वीरगन्ज भन्सार नाका हुँदै एक तिहाइ अर्थात् ३३ दशमलव २३ प्रतिशत रह्यो । सुक्खा बन्दरगाह हुँदै भने कुल आयातको १२ दशमलव ३० प्रतिशत र भैरहवा भन्सार नाकाबाट कुल आयातको १८ दशमलव २९ प्रतिशत आयात भएको देखिन्छ ।

कोभिड–१९ को असर र प्रभाव कम भएसँगै आव २०७८-७९ मा रु १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार बराबरको आयात भयो । जसमा वीरगन्ज भन्सार कार्यालय हुँदै ३६ दशमलव ७८ प्रतिशत अर्थात् रु सात खर्ब छ अर्ब ३८ करोड ७९ लाख ६७ हजार बराबरको आयात भयो । त्यस्तै, सुक्खा बन्दरगाह हुँदै कुल आयातको ११ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई खर्ब १७ अर्ब ९८ करोड ३४ लाख ३० हजारको आयात भयो । त्यस्तै, भैरहवा भन्सार कार्यालयबाट भने कुल आयातको १५ दशमलव ४० प्रतिशत अर्थात् रु दुई खर्ब ९५ अर्ब ६७ करोड १० लाख ५१ हजार बराबरको आयात भएको थियो ।

विभागको तथ्याङ्कअनुसार आव २०७९-८० मा रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार कुल आयात भएको थियो । कुल आयातमध्ये वीरगन्ज भन्सार हुँदै ३६ दशमलव ८२ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालय हुँदै कुल आयातको १२ दशमलव ५५ प्रतिशत र भैरहवा भन्सारबाट भने कुल आयातको १५ दशमलव १९ प्रतिशत आयात भएको देखिन्छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ मधेश प्रदेशका अध्यक्ष कुमार टेमानीले कोभिड–१९ महामारीपछि सरकारले अँगालेको नीतिको कारणले अर्थतन्त्रमा ठुलो खालको समस्या निम्तिएकाले पनि उद्योग र व्यापार क्षेत्रको गुल्जार अझै नफर्किएको बताए । वीरगन्ज वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम पनि कोभिड–१९ महामारी सकिएपछि पनि उद्योगधन्दा मुस्किलले ३० देखि ४० प्रतिशतको हाराहारीमा मात्रै चल्दै आएको गुनासो गरे ।