Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फष्टायो अचारको व्यापार, एक वर्षमा १५ करोड बढी रुपैयाँको निर्यात


फष्टायो अचारको व्यापार, एक वर्षमा १५ करोड बढी रुपैयाँको निर्यात

काठमाडौँ । नेपालले एक वर्षमा १५ करोड ८ लाख रुपैयाँको अचार निर्यात गरेको छ । आर्थिक वर्ष ०८०/८१ मा नेपालले १५ करोड ८ लाख १७ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार ९४२ किलो अचार निर्यात गरेको थियो । अचार सबैभन्दा बढी अस्ट्रेलिया, इटाली, जापान, बेलायत र अमेरिकामा निर्यात हुन्छ । बेल्जियम, क्यानडा, चीन, जर्मन, हङकङ र कोरियामा पनि अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

बजारमा स्वदेशीदेखि विदेशी विभिन्न ब्रान्डमा फरक–फरक स्वादका ‘रेडिमेड’ अचार किन्न पाइन्छ । उत्पादित अचारको खपत बढी मात्रामा आन्तरिक बजारमै हुने भए पनि आर्थिक वर्ष ०७७/७८ देखि विदेशसमेत निर्यात हुन थालेको विभागको तथ्यांकले देखाएको छ । मुलुकबाट लप्सी, मुला, गाँजर, अकबरे खुर्सानीका अलावा बफ, चिकेन, माछालगायतका विभिन्न प्रकारका अचार निर्यात हुने थालेको हो ।

सरकारले अचार निर्यात गर्न आर्थिक वर्ष ०७७/७८ देखि मात्रै ‘राष्ट्रिय शीर्षक’ सिर्जना गरेको थियो । ‘त्यसअघि यस्तो व्यवस्था थिएन, जसले गर्दा अन्य शीर्षकमै अचार निर्यात हुन्थ्यो,’ विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘छुट्टै शीर्षक नै बनाएपछि मात्र अचार निर्यातको तथ्यांक राख्न थालिएको हो ।’ कोभिडको बढ्दो संक्रमणका बेला संसारभरकै व्यापाररव्यवसायमा असर परेका अवस्थामा नेपालबाट भने अचार निर्यात सुरु भएको देखिएको छ ।

गत आर्थिक वर्ष सबैभन्दा बढी अस्ट्रेलियामा ६ करोड ८१ लाख ३१ हजार रुपैयाँ, इटालीमा १ करोड ७४ लाख ६० हजार, अमेरिकामा १ करोड ६२ लाख २४ हजार, जापानमा १ करोड १७ लाख २५ हजार र बेलायतमा १ करोड ३ लाख १० हजार रुपैयाँको अचार निर्यात भएको थियो ।

गत आर्थिक वर्ष ७ करोड २१ लाख ६४ हजार रुपैयाँको अचार आयात भएको विभागको तथ्यांक छ । चीनबाट ४ करोड ३३ लाख २९ हजार र भारतबाट २ करोड ८८ लाख १३ हजार रुपैयाँको अचार आयात भएको विभागको तथ्यांक छ ।