काठमाडौं । प्रविधिको विकास अनुसारको शैक्षिक कार्यक्रम नहुदा स्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन हुन नसकेको चिकित्सा शिक्षा आयोगको प्रतिवेदनले औल्याएको छ ।
विशेषज्ञ जनशक्तिको अभावका कारण सञ्चालनमा रहेका स्वास्थ्य सम्बन्धी कार्यक्रमको गुणस्तर कायम गर्न चुनौती एवं नयाँ कार्यक्रम संचालनमा समेत अवरोध भएको प्रतिवेदनमा जनाएको छ ।
त्यस्तै, विदेशमा अध्ययनका लागि गएका तथा विदेशबाट अध्ययन गरि फर्किएका जनशक्तिको तथ्याङक व्यवस्थित नहुँदा जनशक्ति प्रक्षेपण गर्न नसकिएको आयोगले जनाएको छ ।
सरकारी लगानीमा स्वास्थ्य क्षेत्रमा उच्च शिक्षामा अध्ययन गरेकाहरुले सेवा छाड्ने दर बढ्दो क्रममा रहेको समेत प्रतिवेदनमा उल्लेख छ । जसका कारण उत्पादित जनशक्तिको रोजगारी, व्यक्तित्व विकास र परिचालनको योजना हुन नसकेको समेत जनाइएको छ ।
एउटै स्वास्थ्यकर्मीले एकभन्दा बढी सार्वजनिक वा निजी स्वास्थ्य संस्थामा सेवा दिने कारण रोजगार बजारको जनशक्ति माग निक्र्यौल गर्न कठिन भई उत्पादन र रोजगारीमा सन्तुलन मिलाउन कठिनाइ भएको समेत प्रतिवेदनमा उल्लेख छ ।