काठमाडौं । स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै आयोजक जर्मनी समूह ‘ए’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । निकलास फुलक्रुगले इन्जुरी समयमा गोल गरेपछि जर्मनी र स्विट्जरल्यान्डबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो । सोमबार बिहान भएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लिएको थियो ।
खेलको २८ औँ मिनेटमा डान एनडोयोले स्विस टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए । जितसँगै समूहको विजेता बन्ने सपना बोकेको स्विट्जरल्यान्डलाई ९२ औँ मिनेटमा फुलक्रुगले ठुलो झट्का दिए । योसँगै जर्मनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ । बराबरीपछि ३ खेलबाट जर्मनीको ७ अङ्क रहेको छ ।
स्विस टोलीले समान खेलबाट ५ अङ्क रहेको छ । यस समूहको अन्य खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हरायो । यो नतिजापछि हंगेरीले प्रतियोगिताको नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । हंगेरीको ३ अङ्क छ भने स्कटल्यान्डको १ अङ्क मात्र रहेको छ ।